अनलाइनमार्फत प्रदान हुने सेवा लिन बिचौलियाको भर नपर्न श्रम मन्त्रालयको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयबाट प्रवाह हुने सबै सेवाहरू अनलाइन प्रणालीमा आबद्ध भएको भन्दै सेवा लिन बिचौलियाको भर नपर्न आग्रह गरेको छ ।

पछिल्लो समय बिचौलियाहरू कार्यस्थलमा प्रवेश गर्ने र कर्मचारीलाई कार्य सम्पादनमा असर गर्ने, विधि र प्रक्रिया नमिलेका काम गर्न अनेक दबाब दिने गरेको भन्दै सेवाग्राहीलाई यस्तो अनुरोध गरेको हो ।

पछिल्लो समय वैदेशिक रोजगार विभाग र श्रम तथा रोजगार कार्यालयबाट हुने धेरैजसो कामहरू अनलाइनबाट नै हुन्छ । लाग्ने दस्तुरसमेत अनलाइनमार्फत नै तिर्न मिल्छ ।

त्यसैले अनलाइनमार्फत सहजै लिन सकिने सेवाहरू अनलाइनमार्फत नै लिन र बिचौलियाको भर नपर्न मन्त्रालयले भनेको छ । अनलाइनमार्फत नै हुने काममा लागि कार्यालयमा उपस्थित गराउने र रकम लिने बिचौलियाको कुरा भर नपर्न र यदि त्यस्तो कसैले गरेमा कार्यालय प्रमुख वा विभागीय प्रमुख र मन्त्रालयको कल सेन्टरमा फोन गर्न सकिन्छ ।

मन्त्रालयमा निःशुल्क १६६००१५०००५, ९७७१५९७००८, ९७७८८०१८०००१३ नम्बरमा र [email protected] मा सम्पर्क गर्न सकिन्छ ।

 

Share your love