ब्रेक सुमा राखेर ६० किलो सुन तस्करी गरेको आरोप लागेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता हुने भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।
सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । त्यो प्रतिवेदनमाथि सरकारी वकिल र सीआईबीबीच थप छलफल चलिरहेकाले आइतरबार मात्रै मुद्दा दर्ता हुने श्रोतले जनाएको छ ।
प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।