नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताउनुभएको छ ।
ललितपुर क्षेत्र नम्बर ३ बाट विजयी प्रतिनिधि सभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आउँदो ५ वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताउनुभएको हो ।
उहाँले संसदमा जनमुखि मुद्दाहरु उठाउने बताउनुभयो । आफूले मतदाता समक्ष राखेको प्रतिबद्धताहरू पूरा गरेपछि मात्रै विजयी उत्सव मनाउने भन्दै जितलाई जिम्मेवारीको रूपमा लिएको उल्लेख गर्नुभयो ।
‘हजुरहरूले दिनुभएका वाणीहरू, बाचाहरू, आशा, विश्वास, भरोसा सम्पूर्णलाई मैले संरक्षण गरेर हृदयभित्र जगेर्ना गरेर राखेको छु’ उहाँले भन्नुभयो ‘मेरो ५ वर्ष सदनमा ललितपुर मात्र होइन, समग्र देशवासीको गर्व गर्न लायक राजनीतिज्ञ, सांसद बनेर म उभिने छु ।’
उहाँले देशमा सुशासन र सुव्यवस्था स्थापित गर्न लागि पर्ने बताउनुभएको छ । ललितपुर बासीले आफूमाथि गरेको आशालाई निराशामा परिणत हुन नदिने पनि उहाँले प्रतिबद्धता गर्नुभएको छ ।