नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ पुस २०७९ देखि ५ चैत २०७९ सम्म आफू नै प्रमुख विपक्षी दलको नेता भएको दाबी गरेका छन् । ४ मंसिरमा सम्पन्न आम चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले ७ पुसमा प्रतिनिधि सभा सदस्यको शपथ लिएका थिए । १० पुसमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्दा कांग्रेस प्रतिपक्षमा थियो । तर, २६ पुसमा प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदा कांग्रेसले समेत विश्वासको मत दिएको थियो ।
कांग्रेस सभापति देउवा ७ पुस २०७९ देखि ५ चैत २०७९ सम्म प्रमुख विपक्षी दलको नेताको सिटमा बसेपनि त्यस अनुसार सेवा सुविधा पाएनन् ।कारण- प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल प्रतिपक्षी दल हुन नसक्ने जिकिर गर्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले सभामुख देवराज घिमिरेलाई निवेदन नै दिएका थिए ।
देउवालाई प्रमुख विपक्षी दलको मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा समेत रिट निवेदन दर्ता भयो । सर्वोच्च अदालतमा परको रिट विचाराधीन रहेको भन्दै संसद सचिवालयले देउवालाई प्रमुख विपक्षी दलको बेन्चमा बसे पनि प्रमुख विपक्षी दलको नेताको हैसियतमा प्राप्त गर्ने सेवा सुविधा र पारिश्रमिक दिएको थिएन ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभापति देउवाले आफू विपक्षी दलको नेताको रुपमा रहँदाको सेवा सुविधा माग गर्दै पत्र लेखेका हुन्।