५० लाख बराबरको खानेतेल चोरी गरी बेच्ने ४ जना सार्वजनिक

५० लाख रुपैयाँ बराबरको खानेतेल बाटोबाटै चोरी गरेर बेच्ने ४ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

वीरगञ्जको पथलैया औद्योगिक करिडोर अन्तर्गत मनोकामना आयल फुड प्रोसेसिङ प्रालिमा उत्पादित खानतेल सम्बन्धित ठाउँमा नपुर्याइ बाटोबाटै चोरी गरेर अन्यत्रै बिक्री गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी सार्वजनिक गरेको हो ।

उद्योगले वीरगञ्जको अञ्जनी क्यारियर्समार्फत सिन्धुलीकाे कमलामाई नगरपालिकामा रहेको रोबिन सप्लायर्स लैजान प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको ट्रकमा तेल लोड गरेर पठाएको थियो ।

तर, १ लिटरका १४ हजार ५ सय ६० र आधा लिटरको ५ हजार ९ सय १५ पोका तेल ट्रकमा लोड गरेर पठाइए पनि तेल सिन्धुली पुगेको थिएन । सिन्धुलीमा दुई दिनसम्म तेल नपुगेपछि उद्योगले खोजी गरिदिन भन्दै असोज ३० गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएको थियो ।

बारा प्रहरीले उजुरी गरेको ५ दिनपछि ४ जनासहित ट्रक र केही परिमाणमा तेल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताउनु भयो ।

उहाँले पक्राउ पर्नेमा ट्रक चालक नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ घर भइ काठमाण्डौ बस्ने ४३ वर्षका सुकमान तामाङलाई कल ट्रेस गरी कात्तिक ४ गते पक्राउ गरेको बताउनु भयो ।

प्रहरीले चालक तामाङले दिएको बयानका आधारमा घटनामा संलग्न अन्य ३ जनालाई पनि पक्राउ गरेको छ । बोगटीले ट्रक चालक तामाङले सिन्धुली पुर्याउनुपर्ने तेल बाटोबाटै कुरा मिलाएर रौतहटको गौर नगरपालिका वडा नम्बर १ रमेश कुमारको घरमा भण्डारण गरेको भेटिएको पनि बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय बाराको प्रहरीले भण्डारण गरेको घरबाट ट्रकमा लोड गरिएको भन्दा कम ३ हजार १ सय १७ लिटर मात्रै तेल फेला पारेको छ । बाँकी तेल उनीहरुले बिक्री गरिसकेको प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले रमेशका साथै रौतहटकै वृन्दावन नगरपालिका वडा नम्बर ६ हर्साहाका ३८ वर्षीय शेष कलाम र सोही गाउँपालिका ८ का ४७ वर्षका वैद्यनाथ साह तेलीलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।