५० जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको राय, थप ३०२ किलो सुन तस्करी भएको निष्कर्ष

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । सीआईबीले आज बुधवार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका ९ विदेशीसहित ३२ जना र फरार रहेका १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको जानकारी गराएको छ ।

यस्तै सीआईबीले ब्रेक सु लगायतका माध्यमबाट पछिल्लो समय झण्डै ३ सय २ किलो सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लगाएको पनि जनाएको छ । अहिलेसम्मको अनुसन्धानको क्रममा रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाइ छिपाइ अवैध पैठारी गरेको झण्डै ६१ किलो र सुन निकाली पुन प्याकिङ गरिएको अवस्थामा बरामद भइ आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको झण्डै ३ सय २ किलो सुन अवैध पैठारी भएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार सुन अवैध पैठारी गर्न खडा गरिएका अरु पाँच वटा कम्पनीहरू मार्फत ल्याइएको सुनको विवरणको पनि थप अनुसन्धान भैरहेको छ ।

सीआईबीले आजै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डौमा सुन तस्करी प्रकरणको प्रतिवेदन पेस गर्दैछ । सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन राय पेस गर्ने भएको छ । सुन तस्करी प्रकरणमा अहिलेसम्म ३२ जना पक्राउ परिसकेका छन् । १८ जना फरार छन् ।