पर्सा प्रहरीले ३६ लाख ८८ हजार मूल्य बराबरको लत्ताकपडा बोकेका दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकमा ना ६ ख ४००६ र ना ६ ख ४६०८ नम्बरको मालवाहक ट्रक चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा ट्रकमा लोड गरिएको कन्टेनरमा शिलबन्दी नरहेको तथा बिलबिजकसमेत शंकास्पद देखिएकोले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
ट्रकमा लोड गरिएको लत्ताकपडा ३६ लाख ८८ हजार ९१ रुपैयाँ बराबरको रहेको तथा आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।