२ सय १६ मेगावाट क्षमताकाे माथिल्लाे त्रिशूली–१ जलविद्युत् आयाेजनाकाे शिलान्यास भएकाे छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरूको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन अहिलेसम्मकै ठूलो मेगावाट क्षमताकाे जलविद्युत आयोजनाको शिलान्यास गर्नुभएको हाे । मन्त्री बस्नेतले काठमाण्डाैमा आज मङ्गलवार आयोजित विशेष समारोहबीच आयोजनाको बाँधलगायतका संरचना (हेडवर्क्स) निर्माण कार्यको शिलान्यास गर्नुभयाे ।
रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत् गृहलगायतका संरचनाहरू निर्माणाधीन छन् ।
शिलान्यास समारोहमा मन्त्री बस्नेतले नेपालको जलविद्युत् विकासमार्फत आर्थिक रूपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको उल्लेख गर्नुभयो । मुख्य रूपमा हिउँदको विद्युत् माग पूरा गर्न चुनाैती रहेकाले नमुना आयोजनाको रूपमा तोकिएकै समयमा जलविद्युत् आयाेजनाकाे काम सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने उल्लेख गर्दै उहाँले जलविद्युत् क्षेत्रमा लगानी बढाउन स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो ।
समारोहमा आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन) का सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रूपमा खपत बढाई बाँकी भएकाे ऊर्जा छिमेकी देशहरूमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा ठूलो योगदान गर्न सकिने बताउनुभयो ।
समारोहमा ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् नियमन आयोग, लगानी बोर्ड नेपाल, विद्युत् विकास विभागलगायतका उच्च पदस्थ पदाधिकारीहरू, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थियोङ, आयोजनामा ऋण प्रवाह गर्ने संस्थाका प्रतिनिधिहरू, निजी क्षेत्रका ऊर्जा उद्यमीहरूलगायतकाे उपस्थिति थियो ।
आयोजनाको मुख्य निर्माण २०७८ साल पुसदेखि शुरु गरिएको थियो । भूमिगत विद्युत् गृह, मुख्य सुरुङ, बाँधलगायतका संरचनाहरूको निर्माण तीव्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको छ । आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण शुरु गरिने छ ।
आयोजना निर्माणमा अहिले झन्डै एक हजार जना श्रमिक परिचालित छन् । त्यसमध्ये झन्डै पाँच सय जना रसुवाका स्थानीय बासिन्दा छन् । आयोजना निर्माण अवधि (पाँच वर्ष) भरि सात/आठ सय जना नेपाली श्रमिकले दैनिक रूपमा रोजगारी पाउनेछन् । आयोजना सञ्चालन अवधि (३० वर्ष) मा ७०/८० जनाले रोजगारी पाउने छन् ।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले काम गरिरहेको छ ।
आयोजनाको प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नाै वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ ।
आयोजनाबाट बर्सेनि एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८ दशमलव ७५ प्रतिशत हिउँदयाममा र ६१ दशमलव २५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।
काठमाण्डाै लोड सेन्टरबाट नजिक रहेको र विद्युतको अत्यधिक माग हुने हिउँदमा समेत १ सय ४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले देशको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्तै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १ सय ४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । आयोजनाको काम २०८३ साल मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।