राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० लाई पुनरावलोकन गर्नुपर्ने विषयमा छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा जलस्रोत विज्ञ एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले नेपाल भारतबीच १९५० मा  भएको भन्दै आएको सन्धिको मूल कागजपत्र कतै पनि फेला नपरेको बताउनुभयो ।

उहाँले हालसम्म उक्त सन्धिबारे भेटिएका कागजात र भनाइहरूमा समेत नेपाल भारतबीचको सीमा नाका खुला हुने कुरा उल्लेख नगरिएको बताउनुहुँदै नेपालले सीमा नाका खुला नगर्ने प्रस्ताव भारत समक्ष राख्न सक्नुपर्ने धारणा राख्नुभयो ।

बैठकमा समितिका सांसदहरुले  नेपाल भारतबीच भएको १९५० को सन्धिको मूल प्रति हालसम्म फेला नपरेको अवस्थामा सन्धिमा उल्लेख गरिएका कुराहरू कति आधिकारिक हो भनेर प्रश्न उठाउनुभयो ।

हालसम्म फेला परेका तथ्यहरूका आधारलाई मान्ने हो भने पनि सांसदहरुले उक्त सन्धिको पुनरावलोकन हुनुपर्नेमा पनि जोड दिनुभयो ।

बैठकमा समिति सभापति दिलकुमारी रावल पार्वतीले नेपाल भारत सन्धि १९५० बारे परराष्ट्र मन्त्रालयसँग थप छलफल गरि  सरकारलाई सन्धि पुनरावलोकनका लागि निर्देशन दिने जानकारी दिनुभयो ।