१७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपाल विजयी

काठमाण्डौ – १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई हराएको छ । श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालले भारतलाई तीन–एक गोलले हरायो ।

नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक–एक गोल गरे । भारतका लागि ड्यानी मेतीले गोल गरे । एक–शून्यले पछि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो ।

यो जितसँगै समूह ुबीु मा नेपाल दुई खेलमा ६ अङ्कसहित समूह विजेता बनेको छ भने भारत दुई खेलमा तीन अङ्क जोडर उपविजेता बनेको छ । दुवै टोली सेमिफाइनल प्रवेश गरेका छन् ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई दुई(एक गोलले हराएको थियो । भारतले पनि भुटानलाई तीन(शून्य गोलले हराएको थियो । दुवै खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिर भइसकेको छ ।

यस्तै आजै हुने दोस्रो खेलमा बेलुका श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । अब नेपालले सेमिफाइनलमा आउँदो सोमवार श्रीलङ्का वा माल्दिभ्सबीचको खेलको विजेतासँग खेल्नेछ । भारतले भने सेमिफाइनलमा सोमवार नै समूह ‘ए’ को विजेता बङ्गलादेशसँग खेल्नेछ ।

Share your love