हेटौँडाका उद्योग अझै पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन्

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ । कच्चा पदार्थ अभाव, लागत वृद्धि तथा बैंकको ब्याजले ती उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित भएको छ । यो औद्योगिक क्षेत्रमा एक सय १५ उद्योग सञ्चालनमा छन् । ती उद्योग अहिले ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

तीन ‘शिफ्ट’ मा चल्ने उद्योग एक ‘शिफ्ट’ मा मात्र सञ्चालन भएका छन् । उद्योग क्षमताअनुसार सञ्चालन हुन नसक्दा मजदुर तथा कर्मचारी कटौतीमा परेका छन् । कार्यालयका प्रमुख भोजराज बिडारीका अनुसार कोरोना महामारीपछि परेको आर्थिक तथा व्यावसायिक मन्दीको प्रभाव उद्योगमा परेको छ । आर्थिक मन्दीले सञ्चालन नभएका दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया शुरु गरिएको छ ।

कार्यालयका प्रमुख बिडारीले सम्झौता गर्ने एवम् जमिन ओगट्ने काममात्र भएको तर उद्योग सञ्चालन नभएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । केही उद्योगको सम्झौता खारेज गर्दा कार्यालयविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर पनि भएका उहाँले बताउनुभयो ।

औद्योगिक क्षेत्रमा स्थापना भएका एक सय ४७ मध्ये एक सय १५ वटा विभिन्न प्रकृतिका उत्पादनमूलक उद्योग सञ्चालनमा छन् । नौ वटा उद्योग बन्द भएका तथा २३ वटा निर्माणाधीन छन् ।