मकै र चैते धान सिजनका लागि ५० हजार मेट्रिकटन रासायनिक मल आयात गर्न ठेक्का लागेको छ । गत महिना आह्वान गरिएको सार्वजनिक बोलपत्रमा सिंगापुरको कम्पनी स्वीस सिंगापुर छनोट भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पानीसँग ठेक्का सम्झौता भने हुन बाँकी छ ।
कम्पनीका प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीकाअनुसार ठेक्का सम्झौता पछि ३० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डीएपी मल आयातको सुनिश्चितता हुनेछ । ‘५० हजार मेट्रिकटन मल खरिदका लागि ठेक्का लाग्ने निश्चित भएको छ,’ कार्कीले भने, ‘मल खरिदको कुल लागत ५ अर्ब हाराहारी छ । मूल्यांकन रकम भन्दा सस्तोमा ठेक्का लागेको छ ।’
कम्पनीसँग अबको केही दिनमा ठेक्का सम्झौता गर्ने तयारी कृषि सामग्रीले गरेको छ ।
कम्पनीसँग अहिले ३० हजार मेट्रिकटन युरिया, २२ हजार डीएपी र ३८ सय मेट्रिकटन पोटास मौज्दात रहेको प्रबन्ध सञ्चालक कार्कीले बताए । भारतसँगको जीटूजीको रासायनिक मल पनि अर्को साताबाट नेपाल भित्रिन सुरु गर्ने कम्पनीले जनाएको छ ।