स्वर्गीय पत्रकार सर्राफको परिवारलाई वीरगंज महानगरद्वारा आर्थिक सहयोगको घोषणा

वीरगंज – स्वर्गीय पत्रकार नरेश सर्राफलाई वीरगंज महानगरपालिकाले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । आईतबार वीरगंजमा आयोजित स्वर्गीय पत्रकार सर्राफको १३ औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महानगरका मेयर राजेशमान सिंहले परिवारको जिविकोपार्जनका लागि महानगरको तर्फबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो ।

सर्राफको निधनले पर्सेली पत्रकारितामा कमी महशुस गराएको भन्दै मेयर सिंहले उहाको सम्झनामा पत्रकार महासंघ तथा पत्रकारसम्बद्ध संस्थाको अगुवाईमा स्मृति कोष खडा गर्न महानगरले १० लाख रुपैयाँ उपब्ध गराउने पनि बताउनुभयो ।

यस्तै उहाले स्वर्गीय सर्राफको छोरीको पठन पाठनको जिम्मा महानगरले लिने भन्दै उहाको इच्छा बमोजिमको विद्यालयमा महानगरले पढ्ने व्यवस्था मिलाउने पनि बताउनुभयो । यस्तै स्वर्गीय सर्राफको परिवारलाई रेडियो वीरगञ्जले १ लाख, समाजवादी प्रेस संगठनले १ लाख, भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका नेता तबरेज अहमदले ५० हजार रुपैयाँ नगद उपलब्ध गराउनुभएको छ ।