स्वर्गीय नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीकालागि एमाले पार्टी कार्यालयमै, भोलि अन्त्यष्टि गरिदै

हृदयघातबाट मंगलबार बिहान निधन हुनुभएका संविधान सभा अध्यक्ष एवं पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज पनि श्रद्धाञ्जलीकालागि पार्टी केन्द्रिय कार्यालय च्यासलमा राखिएको छ ।

आज दिउँसोसम्म उहाँको पार्थिव शरीर पार्टी कार्यालयमा राखेपछि आज दिउँसोबाट भने उहाँको निजी निवासमा राखिने छ । भोलि उहाँको पार्थिव शरीरको अन्त्यष्टि गर्ने बताइएको छ । उहाँको पार्थिव शरीरको अन्त्यष्टिको दिन सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ । उहाँलाई राजकीय सम्मनको साथ अन्त्यष्टि गरिने सरकारको घोषणा छ । नेम्वाङ गत साल भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो ।

नेता नेम्वाङले ३० हजार २० मत ल्याएर निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्का (२९ हजार ९ सय ६ मत) लाई पराजित गर्नुभएको थियो । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष/सभामुख र २०७२ सालमा सभामुख हुनुभएको थियो ।

विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बन्नुभएका उहाँ त्यस लगत्तै पुनः राष्ट्रिय सभा सदस्य हुनुभएको थियो । प्रतिनिधि सभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उहाँ संविधान सभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित हुनुभएको थियो ।

प्रतिनिधि सभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए । विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) समेत हुनुहुन्थ्यो ।