मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले विज्ञान प्रविधिको प्रयोग विना कुनै पनि मुलुकको समृद्धि सम्भव नभएको बताउनुभएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा कम्प्युटर एशोसिएशन नेपालको मधेश प्रदेश समितिको आयोजना तथा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा आज जनकपुरधाममा भएको साइबर सुरक्षा सम्बन्धि कार्यक्रममा मन्त्री यादवले   सूचना प्रविधिको महत्त्व विश्वमा पछिल्लो समयमा आएको कोरोना महामारीले थप उजागर गरेको बताउनुभयो ।

उहाँले कोरोनाको समयमा पठन पाठनदेखि राजनीतिक दलहरूको मिटिङ गर्दा सूचना प्रविधिको अधिकतम प्रयोग भएको स्मरण गर्नुभयो ।

मन्त्री यादवले अहिले मोबाइलको दुरुपयोग बढेको उल्लेख गर्नुहुँदै यसको दुरुपयोग रोकेर यसको प्रयोग सूचना प्रविधिको क्षेत्रमा गरेको खण्डमा राम्रो हुने भएकाले यसतर्फ क्यानले विशेष रुपमा ध्यान दिन आवश्यक भएको बताउनुभयो ।

उहाँले मधेश प्रदेश सरकारले सूचना प्रविधिको अधिकतम प्रयोग तथा साइबर सुरक्षाको विषयमा काम गर्न चाहेको उल्लेख गर्नुहुँदै विद्यालय तहमा कसरी डिजिटल शिक्षा प्रदान गर्न सकिन्छ भन्ने कुरामा आफू गम्भीर रहेको बताउनुभयो ।

मधेश प्रदेशलाई एक वर्षभित्रमा पूर्ण साक्षर प्रदेश बनाउने गरि सरकारले काम गर्न चाहेको बताउँदै उहाँले पूर्ण साक्षर प्रदेश बनाउनमा सूचना प्रविधिको प्रयोग कसरी गर्दा उपयुक्त हुने विषयमा सुझाव क्यानसँग आग्रह गर्नुभयो ।

कम्प्युटर एशोसिएशन नेपालका केन्द्रीय अध्यक्ष रञ्जित पोद्धारले विद्यालयहरूमा सरकारले स्थापना गरेको आइसिटी ल्याबको प्रभावकारिता बढाउनका लागि शिक्षकको व्यवस्थापन जरुरी रहेको बताउनुभयो ।

उहाँले अहिले सूचना प्रविधिको क्षेत्रमा साइबर सेक्युरिटी चुनौतीको विषय बनेको उल्लेख गर्नुहुँदै यस विषयमा क्यानले प्रदेश प्रदेशमा जनचेतनामूलक कार्यक्रम गरिरहेको बताउनुभयो ।