सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्दै गएको छ । प्रदेशका ९ वटै जिल्लामा सवारी दुर्घटना बढ्दै गएको एक तथ्यांकले देखाएको हो । गएको ३ वर्षमा १ हजार २ सय ४६ सवारी दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
त्यस्तै, दुर्घटनामा मृत्यु हुनेको संख्या पनि बढेकोे छ । सवारी दुर्घटनाबाट सुदूरपश्चिम प्रदेशमा ५ सय ३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएकाे छ । सवारी दुर्घटनामा सबै भन्दा बढी मोटरसाइकल परेका छन् ।
चालू आर्थिक वर्षको ८ महिनामा मात्रै प्रदेशमा १ सय ८७ सवारी दुर्घटना भएकामा १ सय २१ जनाको मृत्यु भएको छ । ३ सय ३ जना घाइते भएका छन् । त्यस्तै, गएको आर्थिक वर्ष २०७८/७९ मा ५ सय एक सवारी दुर्घटनामा १ सय ९६ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७७/० ७८ मा ५ सय ५८ सवारी दुर्घटनामा १ सय ८६ जनाको मृत्यु भएको छ । दुर्घटना हुने मुख्य कारणमा ट्राफिक नियमको उल्लंघन रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।