पर्सा — साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्षको ७ महिनामा ७५ हजार मेट्रिक टन बढी युरिया र डिएपी मल भित्र्याएको छ । कर्पोरेशन मधेश प्रदेश कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछानेका अनुसार, चालु आवमा ग्लोबल टेण्डरबाट ३ वटा कन्साइन्मेन्टमा गरी ४५ हजार ६ सय मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी मल भित्रिएको छ ।
भारतको इन्डियन पोटास लिमिटेडले पहिलो कन्साइन्मेन्टबाट २४ हजार मेट्रिक टन युरिया र स्विस सिंगापुर कम्पनीले दोश्रो कन्साइन्मेन्टबाट २१ हजार ६ सय मेट्रिक टन युरिया मल आपूर्ती गरेको लामिछानेले जानकारी दिए ।
कार्यालयले मातहतका जिल्लाहरुमा माग तथा कोटा अनुरुप युरिया र डिएपी मल परिचालन गरिरहेको र हाल कर्पोरेशनको वीरगन्जस्थित गोदाममा ५ हजार मेट्रिक टन युरिया र ३ हजार २ सय ५० मेट्रिक टन डिएपी मल मौज्दात रहेको लामिछानेले बताए । ‘कतिपय कोटा पाएका जिल्लाका सहकारीहरुले मल अझै लगेका छैनन्,’ उनले भने, ‘यस बर्षको गहुँ बाली र उँखु बाली सिजनका लागि मलको माग करिब धानिएको छ ।’ कोटा छुट्याएर राखिएको मल कोटा पाएका जिल्ला सहकारीहरुलाई मात्र बितरण गर्न मिल्ने उनले बताए ।
आउदो धान बाली सिजनका लागि ग्लोबल टेन्डरबाटै भारतको इन्डियन पोटास लिमिटेडले २६ हजार मेट्रिक टन डिएपी र २५ हजार मेट्रिक टन युरिया मलको आपूर्तिको ठेक्का पाइसकेको लामिछाने बताउँछन् ।
‘पाइपलाइनमा यी दुई कन्साइन्मेन्ट छन्, आइपिएलले मल आपूर्तीको प्राविधिक काम सुरु गरिसकेको छ, असार अघि नै यी मल आइ सक्छन्,’ उनले भने, ‘यस बाहेक कृषि सामग्री कम्पनीको मल पनि नियमित आउने नै भएकाले आउदो धान बाली सिजनका लागि मलको अभाव नहुने अवस्था छ ।’ कार्यालयले मधेश,बागमती र गण्डकी प्रदेशका समेत गरी डेढ दर्जन बढी जिल्लामा मल परिचालन गर्दै आएको छ । कान्तिपूरबाट साभार