सस्ताे दरमा डलर साट्ने भन्दै बाेलाएर लुटपाट गर्ने २ जना पक्राउ

नेपाल प्रहरीले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर शृङ्खलाबद्ध ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय सञ्जय तामाङ र त्यही ठाउँका ३१ वर्षीय विष्णु तामाङलाई पक्राउ गरी आज मङ्गलवार सार्वजनिक गरेको हो ।

उनीहरूलाई १५ लाख रुपैयाँ बराबरको अमेरिकी डलर साट्न लागेको अवस्थामा काठमाण्डौको टोखा नगरपालिकामा रहेको युनिक कोलोनीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ परेका उनीहरुले पीडित व्यक्तिलाई पटक–पटक फोनमार्फत सम्पर्क गरी अवैध अमेरिकी डलर रहेको र सस्तो दरमा साटिदिने प्रलोभनमा पारि सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका विभिन्न ठाउँमा बोलाइ लाखौँ रुपैयाँ लुटपाट गरेको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेकाहरूलाई ठगी एवम् विदेशी विनिमय ऐनअन्तर्गत मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाएको प्रहरीले जनाएको छ ।

Share your love