मधेस प्रदेश सरकारको सहयोगमा सर्लाही जिल्लाअन्तर्गतका ९७ सामुदायिक विद्यालयका १२ हजार तीन सय ८९ जना विद्यार्थीलाई ज्यामिति बक्ससहित स्कूल ब्याग (शैक्षिक किट) वितरण गरिने भएको छ ।
शिक्षा विकास निर्देशनालय मधेस प्रदेश, जनकपुरधामको आयोजनामा आज सर्लाही सदरमुकाम मलङ्गवा–२ स्थित रहेको पब्लिक माध्यमिक विद्यालयमा एक समारोहका बीच सर्लाही जिल्लाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा–९ का छात्रछात्रालाई ज्यामिति बक्ससहितको स्कूल ब्याग वितरणका लागि सम्बन्धित विद्यालयका शिक्षकलाई जिम्मा लगाइएको छ ।
शैक्षिक किट वितरण कार्यक्रममा शिक्षा विकास निर्देशनालय मधेस प्रदेशका शाखा अधिकृत किशोरी कापर, मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम र शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहालगायतको सहभागिता थियो । शैक्षिक किट बुझेका विद्यालयले चाँडै आआफ्नो विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई वितरण गरिने जनाइएको छ ।