सर्लाही सदरमुकाम मलंगवामा (पुरानो मलंगवा) स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज राति १ बजदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि मलंगवाका निश्चित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
जारी सूचनामा सो क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एवम् अरू कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको जनाइएको छ ।
सूचनामा कर्फ्यु आदेशको उल्लङ्घन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारबाही समेत गर्न सक्ने चेतावनी दिइएको छ ।
बिहीबार राती एक समूहले मूर्ति सेलाउने क्रममा भएको विवादपछि केही स्थानमा तोडफोड र आगजनी गरेलगत्तै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हाे ।