दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की नेत्री रेखा शर्माले सरकारको नेतृत्व आलोपाले गर्ने निर्णय भएको तर पहिला कसले नेतृत्व गर्ने भन्नेबारेमा सहमति जुटाउनुपर्ने बताउनुभएको छ ।
आज शुक्रवार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्रीमा दाबी रहनु स्वाभाविक भएको पनि बताउनुभयो । उहाँले पार्टीबाट प्रधानमन्त्रीका लागि को आउने भन्ने निर्णय पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टिप्पणी हुन आवश्यक नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कुनै एउटा पार्टीले मात्रै सरकार बनाउन सम्भव छैन, त्यसैले छलफलमा छौँ । आलोपालो प्रधानमन्त्री बन्ने भन्ने कुरा शीर्ष नेताहरू बसेर छलफल गर्नुभएको छ । कोबाट सुरुवात हुन्छ भन्ने कुरा सहमतिमा गर्नुपर्छ । को व्यक्ति हुन्छ भन्ने कुरा प्रधान होइन, गठबन्धनले के गर्छ भन्ने कुरा महत्त्वपूर्ण छ ।’
नेत्री शर्माले राजनीतिक दलहरूले युवालाई पनि सम्मानजनकरूपमा अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । उहाँले युवाको जबरजस्ती हस्तक्षेपभन्दा पनि नयाँ भिजन र सोचका साथ अगाडि बढ्दा देश सही मार्गमा जाने बताउनुभयो ।
फरक प्रसङ्गमा नेत्री शर्माले लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा भए पनि माओवादीको समर्थन र अग्रसरताले मात्रै सम्भव भएको दाबी गर्नुभयो । पोखरेलले राजधानी आफू र एमालेले लगेको श्रेय लिनु गलत भएको उहाँको भनाइ छ ।