प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय पुँजीपतिहरुलाई छानिछानि लखेटिरहेको आरोप लगाउनुभएको छ ।
मिनबहादुर गुरुङ र यति होल्डिङ्सले राष्ट्रिय पुँजी निर्माणमा योगदान गरिरहेकाले उनीहरुमाथि सरकारले छानिछानि दुःख दिने काम गरेको ओलीको जिकिर थियो । पार्टीको केन्द्रिय सहकारी तथा गरिवी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले नेतृत्व गरिरहेको माओवादी केन्द्रले त राष्ट्रिय पुँजीको निर्माणमा योगदान दिइरहेका गुरुङ र यति होल्डिङ्सबिरुद्ध गायत्री मन्तर जपेजस्तो जपेर लखेट्ने काम गरिरहेको बताउनुभयो ।
यति होल्डिङलाई खेद्नेहरु दलाल पुँजीवादीहरु भएको भन्दै ओलीले यस्ताहरुको बिरोध गर्न पाउने अवस्था समेत मुलुकमा नरहेको बताउनुभयो । सरकारको गलत कार्यको विरुद्ध बोल्दा सांसदले समेत समातिनु परेको उल्लेख गर्दे उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा दलाल पुँजीवादहरुले मुलुकमा तमासा देखाइरहेको बताउनुभयो । उहाँले धनिपूर्जाको आधारमा जग्गा खरिद गर्ने गुरुङलाई किन समातेको ? भनि सरकारलाई प्रश्न समेत गर्नुभयो ।
अध्यक्ष ओलीले बैंकहरुले गरिवका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि पनि व्यक्त गर्नुभयो । ठूला पुँजिपतिहरुलाई खोजेर अर्बौं लगानी गर्ने बैंकहरुले अझै पनि गरिवलाई भने ऋण दिँदै नदिएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले साना बैंक तथा वित्तिय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले गरिवलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रुपमा ऋण प्रवाह गर्नुपर्ने बताउनुभयो । सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले काँग्रेस र माओवादी केन्द्रलाई सहकारीको अर्थ नै थाहा नभएको टिप्पणी समेत गर्नुभयो । काँग्रेस सहकारीको पक्षमा नरहेको र माओवादी केन्द्र सुनजस्तो मोटो रकम जम्मा गर्ने धन्दामा रहेकाले उसलाई त्यसबारे कुनै मतलव नै नभएको ओलीको भनाई थियो । अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासमा लागि सरकारलाई पनि सचेत गराउनुभयो ।