सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्राे गर्‍याे : ओली

सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्राे गरेको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधवार पृथ्वी जयन्तीको अवसर पारेर काठमाण्डाैमा आयोजना गरेको चियापान कार्यक्रमपछि उहाँले सञ्चारकर्मीमाझ यस्ताे प्रतिक्रिया दिनुभएको हो । अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिङ्गो देशलाई एकताबद्ध गर्नुभएको स्मरणसमेत गराउनुभयो ।

उहाँले भन्नु भयो, ‘पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्ने सन्दर्भमा जुन अगुवाइ गर्नुभयो, जुन नेतृत्व गर्नुभयो र देश एकीकृत भयो । एकीकरण भयो । एउटा देश भयो । नेपाल भयो । हामी नेपाली भयौँ । त्यस कारण पृथ्वीनारायण शाहको जन्मदिनको खुसीयालीमा सरकारले बिदा दियो । पहिलो पटक होला यो सन्दर्भमा ।’

सरकारले आज पृथ्वी जयन्तीको अवसर पारेर सार्वजनिक बिदासमेत दिएको छ । सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई विश्वासको मत दिन पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने सर्तसमेत राखेको थियो ।

 

अन्तिम अपडेट: पुस २७, २०७९