एकता संयोजन समिति बनाउने र चुनावपछि पार्टी एकता हुने सहमति आफूहरूबीच भइसकेको उहाँको भनाइ थियो । ‘माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा विचारको समानता छ । राजनीतिक कार्यदिशामा पनि एकरूपता छ । केही समय अगाडिसम्म हामी एउटै पार्टी नेकपामा सँगै थियौँ’, उहाँले भन्नुभयो, ‘परिस्थितिले हामी अलग भएका छौँ तर फरि पनि हामी वामशक्तिहरू एक ठाउँमा आउनुपर्छ । यसमा सबैभन्दा राजनीति मिल्नेहरू भनेको माओवादी र समाजवादी नै हो ।’
उपमहासचिवत पुनले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग पनि एउटै घोषणापत्र बनाएर चुनावमा जानेबारे छलफल चलेको जानकारी दिनुभयो । यस्तै उहाँले सत्ता गठबन्धनमा रहेका कांग्रेससहित अन्य दलसँग न्यूनतम साझा कार्यक्रम बनाएर चुनावमा जाने बताउनुभयो ।
यस्तै देशको परराष्ट्र नीति, तथा सुशासन र विकासबारे समान धारणा बनाएर जनताका बीचमा लैजाने उहाँले स्पष्ट पार्नुभयो । राजनीतिक स्थायित्व, संविधानको रक्षा र संविधानमा उल्लेख जनताका अधिकार कार्यान्वयनका लागि वर्तमान सत्ता गठबन्धन बनेको दाबी गर्दै उहाँले ती विषय पनि आफूहरूको साझा चुनावी एजेन्डा भएको उल्लेख गर्नुभयो ।