सभामुख देवराज घिमिरे आयरल्यान्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको छ ।
बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनेड एरियनका अध्यक्ष जेरी बटाइमर र आयरल्यान्डका राष्ट्रपति माइकल डि. हिगिन्ससँग शिष्टाचार भेट भएको बताउनु भयो ।
भ्रमणमा नेपाली विद्यार्थीका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्था, क्यान्सर लगायतका रोगको निदानका लागि आवश्यक उपचार पद्धति, प्रविधि लगायतको सहयोगबारे, एक अर्का देशका नागरिकको भ्रमण, नेपालको हिमाल र सगरमाथा हेर्ने र आरोहणको लागि प्रोत्साहनबारे छलफल भएको बताउनु भयो ।
उहाँले नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना, बेलायतको भिसा भएका नेपालीहरुलाई आयरल्यान्ड भ्रमणमा सहजीकरण गर्ने, आउँदाे दिनमा नेपालबाटै आयरल्यान्डका लागि भिसाको प्रबन्ध गर्ने, नेपालमा आइरिस लगानी भित्र्याउनेबारेमा र जलवायु परिवर्तन लगायत विषयमा विश्व मञ्चमा साझा सहकार्य गर्नेबारेमा छलफल भएको बताउनु भयो ।
सभामुख भदौ ३१ गते आयरल्यान्ड जानुभएको थियो ।