सप्तरीमा दिनप्रति दिन आत्महत्याको घटना बढ्दै गएको छ । जिल्लामा अढाई महिनाको अवधिमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या २७ पुगेको छ ।
चालु आ.व. २०७९/८० को हालसम्मको अवधिमा भने विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या ८६ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरी तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०७८/०७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेका थिए ।
पछिल्लो पटक जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ४ जगतपुर मुसहरी टोलमा मङ्गलवार बिहान स्थानीय ३५ वर्षीय मनोज सदाले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
आफ्नो घर भन्दा ५ सय मिटर पूर्व नहरको छेउमा शम्भु सदाले खेत बाली रेखदेखका लागि बनाइएको फुसको छाप्रोको बाँसको बलोमा तन्ना च्यातेको कपडाको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनी झुण्डिएर मृत अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै सोमबार जिल्लाको डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुर स्थानीय धर्मेन्द्र साहकी ३० वर्षीया श्रीमती झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।