मन्त्री शर्माले मन्त्रालयमा छलफल नै नभएका विषयवस्तुहरुका बारेमा पछिल्लो समय सञ्चारमाध्यमहरुमा ठूलाठूला अक्षरमा समाचार छापिएको भन्दै असन्तोष व्यक्त गर्नुभयो ।
उहाँले मन्त्रालयमा छलफल नै नभएको विषयवस्तुहरुलाई लिएर समाचार प्रकाशन एवं प्रशारण हुँदा नीति निर्माण गर्नेहरुलाई कानून नै बनाउन नहुने हो की भन्ने स्थिति आएको बताउनु भयो ।
उहाँले प्रक्रिया शुरु नगर्दा नै सञ्चारमाध्यमहरुले कल्पना गरेर समाचार प्रकाशन गरेको आरोप लगाउनु भयो । मन्त्री शर्माले कानून बनाउँदा सरकारले राष्ट्रिय हीत सर्वोपरी राखेर नै निर्माण गर्ने र कानून निर्माणको प्रक्रिया आफूलाई स्पष्ट रुपमा जानकारी रहेको पनि बताउनु भयो ।
उहाँले अनलाइन मिडियाहरुलाई नियमन गर्नसक्ने कानून सरकारसँग नरहेको भन्दै आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन बनाउँदा सबैकुरा समेटेर निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो ।
मन्त्री शर्माले सञ्चारमाध्यमहरुले कल्पना गरेर बाहिर समाचार प्रकाशन एवं प्रशारण गरेको बताउनु भयो । उहाँले पछिल्लो समय समाजका हरेक क्षेत्र सकारात्मक भन्दा बढी नकारात्मक हुँदै गएको बताउनु भयो । उहाँले सञ्चारमाध्यमहरुले सकारात्मक कुराहरुलाई बाहिर नल्याएको आरोपसमेत लगाउनु भयो ।