सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्त्य, पहिलो अधिवेशन कानुन बनाउन असफल

सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले गएराति १२ बजेदेखि लागू हुनेगरी सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । यो हिउँदे अधिवेशनमा राष्ट्रिय सभाको १९  र प्रतिनिधि सभाको २८ बैठक बसेको छ ।

मंसिर ४ को चुनावपछि गएको २५ गते सुरु भएको प्रतिनिधि सभाको पहिलो अधिवेशनले कुनै पनि कानुन निर्माण गर्न सकेन । यसबीचमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक दर्ता भएका छन् । चुनावपछि  प्रतिनिधि सभामा तीन र राष्ट्रिय सभामा एक  विधेयक दर्ता  भएका थिए ।

पहिलो अधिवेशनको अन्तिम दिन हिजो प्रतिनिधि सभामा  दर्ता भएका   तीनवटै   विधेयक   दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको  छ । यसबीचमा प्रधानन्यायाधीश  सिफारिससँगै संसदीय सुनुवाइका  लागि  संयुक्त  समिति  गठनमा पनि दलहरूबीच सहमति जुट्न सकेन ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई  विशेष समितिमा  छलफलका  लागि पठाउने राजनीतिक  सहमति   पनि   सदनमार्फत् कार्यान्वयन हुन सकेन । हिजोको अन्तिम बैठकमा प्रतिनिधि सभाले  राष्ट्रिय   सभाबाट पारित भइ आएका छवटा विधेयकलाई पनि सम्बन्धित समितिमा पठाएको  छ ।

यस्तै, हिउँदे अधिवेशनको अन्तिम बैठकमा हिजो प्रतिनिधि सभाले विभिन्न १० वटा विषयगत समिति गठन गरेको छ । प्रतिनिधि सभामा १० वटा विषयगत समितिहरुमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति रहेका छन् ।  संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति रहेका छन् ।