बुधबार दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा निर्माण भएको आयुर्वेद शिक्षण भवन उद्घाटनका लागि दाङ पुग्नुभएकी राष्ट्रपति भण्डारीले भवनको उद्घाटन गर्दै सो धारणा राख्नुभएको हो । उहाँले संस्कृत शिक्षासँग आफ्नो पनि व्यक्तिगत एवं भावनात्मक सम्बन्ध रहेको भन्दै जननेता मदन भण्डारी पनि संस्कृत विधाकै उत्पादन रहेका स्मरणसमेत गर्नुभयो ।
दाङ उपत्यका नेपालको ठूलो उपत्यकामध्येको एक रहेको र मानव सभ्यता विकासमा यसको ठूलो योगदान रहेको स्थानका रुपमा पनि चिनारी रहेको बताउँदै उहाँले आफू धेरै पटक दाङ आएको स्मरण गर्नुभयो । नेपाल संस्कृत विश्वविद्यालय दाङमा हुँदा त्यसले दाङको परिचयमा उचाइ अझै थपेकोसमेत उहाँले बताउनुभयो ।
उहाँले संस्कृत भाषा, वाङ्मय र पूर्वीय सम्भयताको अध्ययन दाङमै हुनु यहाँका नागरिकका लागि सौभाग्यको कुरा भएको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले मध्यकालीन समाजका विभिन्न विषयमा जानकारी दिने हजारौँ दुर्लभ ग्रन्थ संस्कृत भाषामा लेखिएकाले तिनबाट अहिलेको र आगामी पुस्ताले लाभ लिन सक्ने वातावरणका लागि विश्वविद्यालयले प्राज्ञिक व्यक्तिहरु उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले शिक्षण भवन उद्घाटनसँगै यसले आयुर्वेद विषयका कैयौं स्नातक उत्पादन गर्ने काममा सघाउन पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयका प्राध्यापक एवं प्राज्ञिक जनशक्तिलाई संस्कृतको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने काममा लाग्न आग्रह गर्नुभयो ।
उहाँले आयुर्वेद उपचार पद्धति नेपालको पुरानो उपचार पद्धति भएको र यसलाई कोरोना भाइरसका बेला मानिसहरुले अवलम्बन गरेबाट पनि यसको महत्व बढेको बताउनुभयो । पूर्वीय सभ्यता मात्रै नभई संसारको साझा सम्पत्तिका रुपमा आयुर्वेदलाई लिने गरिएकोसमेत राष्ट्रपति भण्डारीले बताउनुभयो ।
आयुर्वेद, योग, ध्यानलगायत मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित अनेकौँ उपचार पद्धतिको खोज अनुसन्धानका लागि पनि संस्कृत विश्वविद्यालय क्रियाशील हुनुपर्ने उहाँको सुझाव थियो ।
राष्ट्रपति भण्डारीले नेपालीको पहिचान, स्वाभिमान, सम्मान र निजत्वको खोजी गर्नुपर्ने भन्दै यसको नेतृत्व विश्वविद्यालयसहित अन्य प्राज्ञिक संस्थाले लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संस्कृत विश्वविद्यायलाई थप व्यवस्थित गर्नका लागि आफू सदैव सहयोगी बन्ने बताउनुभयो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले यस विश्वविद्यालयको विकास र विस्तारका लागि आफू लागिपर्ने बताउनुभयो ।