संवैधानिक परिषद् ‘भागबन्डा परिषद्’ काे रूपमा विकसित भयो : कांग्रेस नेता केसी

नेपाली कांग्रेसका नेता एवम् सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबन्डा परिषद्को रूपमा विकसित भएको टिप्पणी गर्नुभएको छ ।

आज मङ्गलवार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा नेता केसीले संवैधानिक परिषद्लाई सरकार र सत्तामा हुनेहरूले निरीह बनाउने र छायामा राख्ने काम गरिरहेकाे बताउनुभएकाे हाे । उहाँले महालेखा परीक्षक र महालेखा नियन्त्रक कार्यालयको बेरुजु कम गर्ने विषयमा कडाइ गर्नुपर्ने पनि बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘संवैधानिक परिषद् भागबन्डा परिषद्को रूपमा विकसित भएको छ । संवैधानिक परिषद्लाई दल वा सत्तामा बसेकाहरूले निरीह र छाया बनाउने काम गरिरहेका छन् । महालेखा परीक्षक र महालेखा नियन्त्रक कार्यालयले बेरुजु कम गर्ने विषयमा कडाइ गर्नुपर्छ । रकम निकासामा कडाइ गर्दा पनि बेरुजु कम हुन सक्छ ।’