संवैधानिक आयोगका अध्यक्षहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
बिहीवार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरूले संयुक्तरूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका हुन् । भेटमा आयोगका अध्यक्षहरूले आ–आफ्नो आयोगमा भएका समस्या प्रधानमन्त्रीसमक्ष राखेका छन् ।
भेटपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरूले आयोगमा स्रोत, साधन र कर्मचारीको दरबन्दी कम भएकाले काम गर्न समस्या परेको कुरा प्रधानमन्त्रीसमक्ष राखेको बताउनुभयो । उहाँले आयोगहरूमा स्रोत, साधन र कर्मचारीको दरबन्दीको थप गर्न माग गरिएको जानकारी दिनुभयो ।
आयोगका अध्यक्षहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक आयोगहरूलाई बलियो बनाउनका लागि सरकारले प्रयास गर्ने प्रतिबद्धता गर्नुभएको मुस्लिम आयोगका अध्यक्ष अन्सारीले बताउनुभयो ।