संविधान दिवसको अवसरमा आममाफीका लागि पठाइएका नाममा राष्ट्रपति कार्यालयको असहमति

संविधान दिवसको अवसर पारेर गृह मन्त्रालयले कैद सजाय मिनाहका लागि सिफारिस गरेका मध्ये ३४ जनाको नामावली राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमै फिर्ता पठाएको छ ।

कैद मिनाहाका लागि पठाइएकाहरुमा गम्भीर प्रकृतिका अपराधमा संलग्नहरु पनि रहेको आशंकामा राष्ट्रपति कार्यालयले ३४ जनाको विषयमा स्पष्ट पार्न भन्दै गृहमन्त्रालयमा पठाएको हो ।

राष्ट्रपति कार्यालयले आम माफी दिनुपर्ने कारण र महान्यायाधीवक्ताको रायसहित पठाउन भनेको गृहमन्त्रालयले स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालयले फिर्ता पठाएका नामहरुमा अधिकांश ज्यान मुद्दा र कर्तव्य ज्यान मुद्दा तथा तस्करी र सहकारी ठगीमा सजाय तोकिएकाहरु रहेको बुझिएको छ । गम्भीर प्रकृतिका मुद्दामा सजाय मिनाहा गर्न नमिल्ने कानुनी प्रावधान रहेको छ ।