संविधानले व्यवस्था गरेको कुरा पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन् : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सूचनाको सही सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । आज बिहीवार काठमाण्डाैमा आयोजित सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले संविधानले व्यवस्था गरेको कुरा कार्यान्वयनमा ल्याउन अझै धेरै बाँकी रहेको बताउनुभयो । उहाँले कानुनमा प्रबन्ध भएका कुराहरूको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरू देखिरहेको भन्दै सूचनाको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कानुनमा रहेका कमी, कमजोरीलाई पूरा गर्ने कुरामा ध्यान आकृष्ट गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधानले व्यवस्था गरेको कुरा, कानुन प्रबन्ध गर्ने कुराहरू थुप्रै बाँकी छन् । कानुनमा प्रबन्ध भएका कुराहरूको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरू पनि केही देखिएका छन् । सूचनाको हकलाई असर पार्ने ढङ्गबाट यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने प्रचारबाजी भएका छन् । विधेयकमा सूचनासम्बन्धीका हकलाई व्यवस्थित गर्ने र कमजाेरीलाई सच्याउन ध्यान आकृष्ट गर्ने, तिनीहरूलाई कार्यान्वयन गर्नका लागि बाध्य बनाउने काम यस्ता सम्मेलनले गर्न सक्छन् ।’

सभामुख घिमिरेले प्रजातन्त्रको स्थिरता, समृद्धि, जवाफदेही बनाउनका लागि, विधिसम्मत ढङ्गबाट काम गर्ने वातावरण मिलाउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयाे ।