झण्डै ३७ वर्ष शिक्षण सेवामा बिताउनु भएका बरालले आफ्नो अनुभव र अनुभूतिलाई “मैले टेकेको धरती” पुस्तकमा समेट्नु भएकाे छ ।
पुस्तकको समीक्षा साहित्यकार दुर्गा शाह “बाबा” ले गर्नुभएको थियो । बरालले लामो समय शिक्षण पेसामा आबद्ध रहेर अवकाशपछि खाली रहेको समयलाई सदुपयोग गर्दै पुस्तक प्रकाशित गरेकाे बताउनु भएकाे छ । बरालको यस कृतिले नयाँ र पुराना पुस्ता जोड्ने सेतुको काम गरेको शाहकाे दाबी छ । पुस्तक पढ्दै गर्दा पट्यार लाग्ने ठाउँ नै नभएको बताउँदै उहाँले आफ्नै गाउँ पाखाको परिवेशको याद आउने बताउनु भयो । दुःखका सङ्घर्षहरूका कथाले भरिएको बरालको कृतिले असल अभिभावक कसरी बन्न सकिन्छ भन्ने प्रेरणा समेत दिएको बताउनु भयो ।
शिक्षाविद् जर्ज जोनले कृति लोकार्पण गर्न पाउँदा अत्यन्तै खुसी भएको बताउनु भयाे । सबै मान्छेहरूले कर्म गरे पनि कमै मान्छेले मात्रै सत्कर्म गर्ने र शोभाकार बराल सत्कर्म गर्ने असल अभिभावक र शिक्षासेवी हुनु भएको उहाँले बताउनु भयो ।
उहाँले पुस्तकमा विशेष नयाँ र विशिष्ट कुरा नभए पनि यस कृतिले नयाँ पुस्तालाई आफ्ना पुस्ता, परम्परा र संस्कृतिको बारेमा थोरै भए पनि जानकारी दिने बताउनु भयो ।
कुल १५२ पृष्ठको पुस्तक “मैले टेकेको धरती” लोकार्पण मा १३ ओटा शीर्षकमा अनुभव र अनुभूति सङ्ग्रहीत छन् । पुस्तकमा पोखरा महानगरपालिका, वडा नं २२ ठूलिविणीमा प्रचलित देव कार्यमा गाउने आरती र लोक भजन पनि सङ्ग्रहीत छन् । पुस्तकमा सङ्कलित विभिन्न तस्बिरहरूले थप आकर्षण बढाएकाे छ ।
तीर्थ यात्रादेखि विदेश यात्रासम्मका, स्थानीय थान तथा देवस्थल र लेखकले विभिन्न समयमा प्राप्त गरेका सम्मानको तस्बिरहरू पनि पुस्तकमा समेटिएकाे छ। पुस्तक व्यक्तिको अनुभव र अनुभूति भए पनि पुस्तकले पस्केका विषयवस्तु पुरातात्विक, ऐतिहासिक र सांस्कृतिकजन्य विषयवस्तु हुन् । वर्तमान तथा भावी पुस्ताका लागि निकै महत्त्वपूर्ण हुने विषयवस्तु पुस्तकमा पढ्न पाइन्छ ।