कोरोना महामारीकालमा एसियाली क्षेत्रका देशहरूले १.७ ट्रिलियन अमेरिकी डलरभन्दा बढी गुमाएको एसियाली विकास बैंकले अनुमान गरेको छ । एकातिर महामारीको क्षति अर्काेतिर आधुनिक पूर्वाधारमा गर्नेपर्ने लगानीको दबाब रहेकाले पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता आवश्यकता बढ्दै गएको छ ।
लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तले पूर्वाधाराका आयोजनामा ठूलो लगानी, जोखिमयुक्त हुनुका साथै राजनीतिकरण हुने गरेको बताए । ‘निजी लगानी चाहिन्छ भन्ने कुरामा हामी सबै सहमत छौं । तर यहाँ जुन खालको राजनीतिकरण हुन्छ यो माइन्डसेट परिवर्तन हुन आवश्यक छ’ पन्तले भने ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले पूर्वाधार निर्माणमा लगानीका लागि स्रोतको अभाव तथा निजी क्षेत्रको अनिच्छा भन्दा पनि सरकारी नीति नियमकै कारण अवरोध भइरहेको बताए । अनुमानयोग्य नीतिको अभावमा कयौं पूर्वाधारका परियोजना प्रभावित भएको उनको भनाइ छ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल पूर्वाधार निर्माणका लागि राम्रो भए पनि नेपालमा सफल हुन नसकेको बताए ।