शहीदका सपना पूरा गर्न साझा संकल्प आवश्यक : उपप्रमुख डंगोल

देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।

यसै अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरुको सपना साक्षी राखि एकजुट भएर काम गर्ने बेला आइसकेको बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले शहीदले देख्नुभएको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि अहिले सबैका बीचमा साझा संकल्प चाहिएको बताउनु भयो ।

उपप्रमुख डंगोलले जनताका चाहनाबमोजिम सेवा सुविधा उपलब्ध गराउन स्वतन्त्रता र सँगसँगै समता र समुचित उपभोग गर्न शहीदहरुको सपना साक्षी राखेर एकजुट भएर काम गर्ने बेला आइसकेको बताउनु भयो ।

डंगोलले समृद्धिको मुल आधार भनेको आर्थिक विकास र रोजगारी रहेको भन्दै यसलाई सार्थक बनाउनका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र र अधिकार भित्र रहेर काम गरिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, उत्थान र सँगसँगै स्वास्थ्य शिक्षामा पहुँच तथा समावेशी एवं पहुँचयुक्त विकासमा प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले महानगरवासीको मुहारमा खुशी र सुखका अनुभुति ल्याउन निरन्तर रुपमा प्रयासरत रहेको जिकिर गर्नुभयो ।

उपप्रमुख डंगोलले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तहगत रुपमा नै सरकारहरुलाई नागरिकको मुहारमा खुशी ल्याउने कर्ममा लाग्नुपर्ने आजको उद्देश्य रहेको बताउनु भयो । यसबाट नै शहीदले देखेका सम्पूर्ण सपनाहरु पूरा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।