सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
शनिवार काठमाण्डौमा लायन्स क्लबको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशले राजनीतिमा ठूलो परिवर्तन गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब समाजलाई आर्थिक र सामाजिक विकास गर्नुपर्ने दायित्व पूरा गर्न आवश्यक भएको बताउनु भयो ।
उहाँले अहिले समाजले प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरु कुर्सीको लागि होडबाजी गरिरहेको प्रश्न उठाइरहेका बेला लायन्स क्लबले गरेका कामहरुबाट सिक्दै अघि बढ्न आवश्यक रहेको बताउनु भयो । सभामुख घिमिरेले आफ्नो व्यक्तिगत चाहनालाई त्यागरे देशको आवश्यक्तालाई मध्यनजर गरी अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले हामी राजनीतिक ठूलो परिवर्तन गरेर समाजलाई आर्थिक र सामाजिक विकास गरेर महत्वपूर्ण घडीमा आइरहेका छौँ । अनेकौँ चुनौतीहरुको सामना गरीरहेका छौँ । यतिबेला हाम्रो समाजले हाम्रो प्रणालीलाई र प्रणालीलाई नेतृत्व गरिरहेका नेताज्युहरुलाई कुर्सीको लागि होडबाजी मात्रै गरेका हुन् की भन्ने प्रश्न खडा हुन थालेको छ । लायन्स क्लबले गरिरहेका काम र प्रणालीहरु पदको लागि कुनै कोसिस गर्नु नपर्ने, आम सदस्य प्राप्त गर्दैगर्दा पनि सदस्यको लागि आफ्नो चाहना र इच्छा भन्दा पनि संस्थाको आवश्यक्ता र मूल्यांकनको आधारमा सदस्यता प्रदान गर्ने कुरा देखिरहेका छौँ ।’
सभामुख घिमिरेले लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक सौन्दर्यता खोज्ने कुरामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।