सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेताहरुले नै वीरगन्जमा सरकार र गृहमन्त्रीविरुद्ध प्रदर्शन गरेका छन् ।
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएकाे सांघातिक आक्रमणका विरुद्ध कांग्रेसकाे भातृ संगठन नेपाल तरुण दल पर्साका नेता कार्यकर्ताहरुले बिहीबार साँझ घण्टाघर चाेकमा प्रदर्शन गर्दै सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे विराेधमा नाराबाजी गरेका हुन् ।
प्रदर्शनमा सहभागी तरुण दलका नेता कार्यकर्ताहरुले नालायक सरकार मुर्दावादा, हत्यारा सरकार मुर्दावाद, गृहमन्त्री राजिनामा दे लगायतका नारा लगाएका थिए ।
नाराबाजीपछि आयाेजित काेणसभामा बाेल्दै कांग्रेस पर्साका सहसचिव नविन सिंहले कांग्रेस नेता यादमाथि भएकाे सांघातिक आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न सरकारसंग माग गरे । उनले लाेकतन्त्र र गणतन्त्रका विराेधी शक्तिहरु कांग्रेसलाई तर्साउने हर्कतमा लागेकाे भएपनि कांग्रेस त्यसबाट कदापि नडराउने बताए ।त्यस्ता अराजक र अपराधीक तत्वहरुलाई सरकारले कारबाही नगरे कांग्रेसले देशैभर आन्दाेलन चर्काउने चेतावनीसमेत उनले दिए ।
काेणसभामा बाेल्दै नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारीले कांग्रेसकै आड र समर्थनमा बनेकाे सरकारका गृहमन्त्री श्रेष्ठले कांग्रेसकै नेतामाथि आक्रमण हुदाँसमेत माैन साँधेर बस्नु दुर्भाग्यपूर्ण भएकाे बताए ।उनले शान्ति सुरक्षा कायम गर्न असफल भएकाले गृहमन्त्री श्रेष्ठले अविलम्ब राजिनामा दिनुपर्ने मागपनि गरे ।
नेविसंघकी केन्द्रीय सदस्य नेहा मिश्राले सरकारलाई नालायक सरकारकाे संज्ञा दिइन् ।उनले गृहमन्त्री श्रेष्ठले नैतिकताका आधारमा तत्काल राजिनामा दिनुपर्ने मागपनि गरिन् ।
तरुण दल पर्साका अध्यक्ष विकास तिवारीकाे अध्यक्षतामा भएकाे प्रदर्शनमा तरुण दलका नेता कालु सिंह, कांग्रेस क्षेत्रीय सचिव रन्जित कुमार पटेल, युवा नेता शेष हजरा लगायतको सहभागीता थियाे । – मधेश खबरबाट