वीरगन्ज महानगरमा पनि डेंगीको प्रकोप देखिएको छ । चिकित्सकहरुका अनुसार लामो सुक्खायाम पछि ३ साताअघि भएको वर्षालगत्तै डेंगीका बिरामी देखा पर्न थालेका हुन् ।
नारायणी अस्पतालका चिकित्सक एवम् सूचना अधिकारी डा उदयनारायण सिंहका अनुसार हाल नारायणी अस्पतालमा डेंगी संक्रमित दुई जना उपचाररत छन् । सरकारी र महानगरका विभिन्न निजी अस्पतालमा समेत गरी ५ जना डेंगी संक्रमित भर्ना भएर उपचाररत रहेको उनले बताए । यस बाहेक घरमै बसेर औषधि सेवन गर्ने बिरामीको संख्या धेरै छ ।
अस्पतालका अर्का चिकित्सक डा. निरज सिंहले आफूले मात्र नारायणी र एडभान्स अस्पतालमा गरी यसपटक डेंगीका आधा दर्जन बिरामीको उपचार गरिसकेको बताए । ‘प्लेटलेट्स कम भएका र अत्यधिक सिकिस्त भएर आउने डेंगीका रोगी यस पटक कम छन्,’ उनले भने, ‘तर १ सय ४ डिग्रीसम्मको उच्च ज्वरो आउने, जिउ दुख्ने जस्ता लक्षण भएका बिरामी बढी छन्, वृद्धवृद्धाहरु बेहोस भएर आउनेहरु पनि छन् ।’
गत वर्ष वीरगन्जमा डेंगीसँगै मलेरिया रोगको प्रकोप पनि देखिएको थियो । गत वर्ष वीरगन्जमा चिकित्सकहरुको सम्पर्कमा आएका डेंगी संक्रमितमध्ये अधिकांश संघीय राजधानी काठमाडौं तथा हेटौंडा बस्ने वा दैनिक आउजाउ गर्नेहरु बढी रहेका थिए । काठमाडौंसम्म सुमो चलाउने चालक तथा काठमाडौंबाट फर्किएका विद्यार्थीहरुमा बढी डेंगी संक्रमण देखिएको थियो ।
उनका अनुसार मंगलबार नै विभिन्न टायर बिक्रेताहरुको पसलको स्थलगत अनुगमन गर्दा टायरमा जमेको पानीमा डेंगी सार्ने लामखुट्टेका लार्भा भेटिएको छ। महानगरका स्वास्थ्य महाशाखा, सरसफाइ महाशाखा तथा नगर प्रहरी समेतका जनशक्तिको टोलीले मंगलबारबाटै ‘सर्च एण्ड डिस्ट्रोय अभियान’ पनि चलाएको उनले जनाए ।
वीरगन्ज महानगरमा बर्सेनि फैलिने डेंगीको प्रकोपको मुख्य कारक टायरमा जम्ने पानी नै हुने गरेको छ । यस वर्ष पनि टायरमा जमेको पानी फाल्ने र व्यवसायीलाई टायरमा पानी जम्न नदिने गरी टायर भण्डारण गर्न सचेत गराइएको उनले बताए । यससँगै स्थानीयको छतमा रहेका ओभर हेड ट्यांकी, गमला, एसी, पानीका बोतल आदिमा डेंगु फैल्याउने लामखुट्टेको लार्भा खोजेर नष्ट गरिने अभियान छ ।
महानगरको कार्यालयले लामखुट्टे नियन्त्रणका लागि अविलम्ब औषधि छर्ने अभियान सञ्चालनको तयारी गरी रहेको पनि उनले जानकारी दिए ।