वीरगन्जमा घटेन खानेपानीका धारा जडानको माग

 

पर्सा — चरम सुक्खासँगै पानीको भूमिगत स्रोतको सतह तल सरेपछि खानेपानी संस्थानसँग धारा जडान माग गर्दै निवेदन दिने क्रम अझै थामिएको छैन । वर्षा हुन थालेपछि चापाकलहरुमा पानी आउन थालेको छ । तर‚ खानेपानीका कर्मचारीलाई धाराको माग पुरा गर्न अझै भ्याइनभ्याइ छ ।

गत वैशाख-जेठमा महानगरका धेरै ठाउँ चापाकलमा पानी आउन छाडेका थिए । संस्थानको वीरगन्ज शाखामा चैतयता १ हजार ६ सय वटा नयाँ धारा जडानको निवेदन परे । जसमा १ हजार ३ सय ८० नयाँ धारा जडान भइसकेको छ ।

धमाधम नयाँ धारा बाँडेपछि अब आपूर्ति प्रणालीमा सुधारको आवश्यकता देखिएको छ । शाखाका सूचना अधिकृत सन्जीव कर्णका अनुसार जडान गर्न बाँकी धारामध्ये करिब एक सय निवेदन संस्थानको पाइपलाइन नै नभएका क्षेत्रका बासिन्दाहरुबाट आएको छ । पाइपलाइन विस्तारका लागि बजेट अभावमा ती मागलाई तत्कालै सम्बोधन गर्न सक्ने अवस्था नभएको उनले बताए ।

‘पानीको हाहाकार भएका बेला महानगरबासी धेरैले धारा जडानका लागि निवेदन दर्ता गराए, कतिपय निवेदनलाई कार्यान्वयन गर्ने अवस्था नै छैन,’ उनले भने, ‘संस्थानको पाइपलाइन नै बिस्तार नभएको क्षेत्रमा कसरी धारा दिने ?’ निवेदनहरु अध्ययन गर्दा महानगरमा २२ किलोमिटर क्षेत्रमा पाइपलाइन विस्तार गर्नुपर्ने देखिएको उनले बताए ।

असोजमा शाखाको नयाँ बजेट आएपछि महानगरको कुन कुन क्षेत्रमा के कति पाइपलाइन बिस्तार गर्न सकिन्छ भन्ने टुंगो हुने कर्ण बताउँछन् । बिगतमा वीरगन्ज महानगरमा शाखाका ७ हजार २ सय ग्राहक थिए । चैतयता ग्राहक संख्या बढेर ९ हजार ९ सय पुगेको छ । ‘चैतअघि दैनिक ७ देखि १० वटासम्म पुराना धारा बन्द गर्ने निवेदन शाखामा आउँथ्यो,’ उनले भने, ‘अहिले स्थिति ठीक विपरीत छ । दैनिक ७ देखि १० वटासम्म नयाँ धारा जडानको निवेदन आइरहेका छन् ।’ असार/साउन महिनामा नयाँ धारा माग्नेको चाप अत्यधिक भएपछि संस्थानका अन्य शाखाका प्लम्बर वीरगन्ज तानिएका थिए । उनीहरुले पनि नभ्याएर शाखाबाटै दैनिक ज्यालादारीका प्लम्बरले समेत गरी साउन महिनामा मात्रै ८ सय ५० वटा नयाँ धारा जडान गरेको उनले बताए ।

अहिले पनि शाखामा उपलब्ध करार तथा दैनिक ज्यालादारीका गरी २२ जना प्लम्बर दैनिक नयाँ धारा जडानको काममा खटिएका छन् । ‘अहिले पनि हामी दैनिक ८ देखि १० वटा नयाँ धारा जडान गरिरहेका छौं,’ उनले भने, ‘नया धारा जडानको माग आउन अझै पनि थामिएको छैन । संस्थानको पाइप गएका क्षेत्रबाट निवेदन आए तत्कालै धारा दिइरहेका छौं ।’

यसपटक मधेसका जिल्लामा वर्षा ढिला भयो । भूमिगत सतह तल भासिँदा वीरगन्जका चापाकलमा धेरै ठाउँ चापाकलबाट पानी आउनै बन्द भएको थियो । पछिल्लो समय वर्षा भएर भूमिगत पानीको सतह केही माथि आइसकेको छ । घर-घरका सुकेका चापाकलहरुमा पानी आउन थालेका छन् । तर‚ भविष्यमा फेरि सुक्खाको मार पर्न सक्ने अनुमान गरेर धेरैले विकल्पमा संस्थानको धारा जडान गराइरहेका छन् ।

संस्थानको वीरगन्ज शाखाका अनुसार महानगरका लागि हाल ३ वटा ओभरहेड ट्यांकी र २ वटा प्रत्यक्ष लाइनसमेत गरी दैनिक २० देखि २२ लाख लिटर खानेपानी वितरणको क्षमता छ । जुन हालको मागभन्दा झण्डै दोब्बर रहेकाले नयाँ धारा जडान गर्न शाखालाई समस्या नभए पनि पाइपलाइन नै नपुगेका क्षेत्रका लागि भने तत्काल वितरणको योजना नभएको उनले बताए । -कान्तिपूरबाट