वीरगंज महानगरको अठराहाँमा ९० जना दादुरा रोगबाट संक्रमित

वीरगंज महानगरपालिका–२६ अठराहाँमा दादुराका सङ्क्रमितहरू भेटिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । वीरगंज महानगरको जनस्वास्थ्य प्रवद्र्धन शाखाबाट ल्याबसहित खटिएको स्वास्थ्यकर्मीको टोलीले त्यहाँ भेटिएका बिरामीहरूलाई दादुरा भएको पुष्टि गरेका छन् ।

दादुरा सरुवा रोग भएको र हरेक वर्ष छिटपुटरूपमा व्यक्तिहरूलाई सङ्क्रमित गर्ने गरेको जनस्वास्थ्य निरीक्षक सुनील कुर्मीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीको टोलीले ल्याबसहित पुगेर बिरामीको स्क्रिनिङ, रोगको इतिहास र शारीरिक परीक्षण गर्दा दादुरा भएको बताएका छन । वडा नं २६ सुगौली स्वास्थ्य चौकीमा पछिल्लो केही दिनदेखि दादुराका बिरामीहरू उपचारका लागि आउने गरेका छन्।

सो क्षेत्रमा आजसम्म ९१ जनामा यस्तो लक्षण देखिएको स्वास्थ्य चौकीकी इन्चार्ज पूजा गुरुङले जानकारी दिनुभयो । ७५ जना सङ्क्रमित निको भइसकेको र बाँकी बिरामीहरूको अवस्था पनि सामान्य रहेको उहाले बताउनुभयो ।

स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेर बिरामीहरूको स्वास्थ्य परीक्षण गरेको थियो। टोलीले स्थानीयवासी जम्मा गरेर दादुराबारे जनचेतना जगाउन स्वास्थ्यकर्मीहरूलाई टोलटोलमा परिचालन गरेको छ । छिटपुटरूपमा देखिने यो रोग वीरगंजको एउटा वडामा धेरै सङ्ख्यामा भेटिएको पहिलोपटक भएको जनस्वास्थ्य निरीक्षक कुर्मीले बताउनुभयो । दादुरा विशेषगरी दुई वर्षदेखि १० वर्ष उमेर समूहका बालबालिकामा देखिने गरेको भएपनि यहाँ जुनसुकै उमेर समूहका व्यक्तिमा देखिएको उहाले बताउनुभयो ।