सरकारले अपर अरुण जलविद्युत परियोजनाको लागि विश्व बैङ्कबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अपर अरुण जलविद्युत परियोजनाको पूर्वतयारीको लागि विश्व बैङ्कबाट सहुलियत ऋण सहायता लिन लागेको बताउनुभयो ।
यस्तै २९ गते बसेको मन्त्रिपरिषद् बैठकले कम्पनी दर्ता र पूजीँ वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने सम्बन्धी सूचना प्रकाशन गर्ने, बाध्यकारी श्रमसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्नको लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।
मन्त्री शर्माले बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा बाबुराम पन्तलाई नियुक्त गर्ने, जटामसी वनस्पतिको व्यवस्थापन निकायको रुपमा डिभिजन बन कार्यालयलाई तोक्ने पनि निर्णय भएको बताउनुभयो ।