चर्को गर्मीबिच विद्युत् कटौती र कम भोल्टेजको समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ । तुलनात्मक रूपमा वीरगञ्जमा भन्दा बारा, पर्साको ग्रामीण क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या रहेको छ ।
मुलुक लोडसेडिङमुक्त घोषणा गरिए पनि त्यस्तो अनुभूति गर्न नपाइएको वीरगञ्ज महानगरपालिका ५ का वडाध्यक्ष प्रदीप चौरसियाले बताउनुभयो । छिनछिनमै विद्युत् जाने र रातभरि नआउने समस्या बढेपछि वीरगञ्ज लगायत ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाहरू आक्रोशित भएका छन् ।
पटक पटक बिजुली जाने गरेको सम्बन्धमा हेटौडा ग्रिड महाशाखा अन्तरगतको वीरगञ्ज सव स्टेसनका कर्मचारी आनन्द उपाध्यायले सिस्टम गएको कारण माथिबाटै समस्या भएको बताउनुभयो ।
उहाँले वीरगञ्ज र बारा, पर्सामा ९ वटा फिडर रहेको र केबुल हिट भएर केही समय लाइन जाने गरेको बताउनुभयो ।
वीरगञ्जका उपभोक्ताहरूले भने बिजुली एउटा फिडरमा आउने र अर्को फिडरमा जाने गरेको भन्दै प्राधिकरणले अघोषित लोडसेडिङ गरेको आरोप लगाएका छन् ।
बारा, पर्सा जिल्लामा केही दिनदेखि पटक–पटक विद्युत् आउने जाने समस्या हुँदा विद्युतीय उपकरणमा समेत समस्या देखिन थालेको उपभोक्ताको गुनासो छ । विद्युत् अनियमित भएकै कारण विद्युतीय सामग्री खराब हुन थालेको पर्सा पोखरीयाका राजु रौनियारले बताउनुभयो ।
यता विद्युतका कर्मचारीहरूले मागअनुसार बिजुली आपूर्ति हुन नसक्दा अनियमित कटौती भइरहेको बताए पनि प्राधिकरणका अधिकृतहरूले लाइन जाने गरेको समस्याका बारेमा जानकारी दिन नखोज्दा थप समस्या भएको छ ।