राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमानचालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई) भरेका हुन् । पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतको टोलीले आज काठमाडौँ–दुबईका लागि अन्तर्राष्ट्रिय उडान गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
उनीहरू दुबईबाट यात्रु लिएर बुधबार बिहान काठमाडौँ फर्कने उडान तालिका रहेको छ । बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिन यो उडानमा सम्पूर्ण चालक दलका सदस्यहरू महिला हुने जनाइएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा चारजना न्यारोबडीमा र एक जना वाइडबडीमा गरी पाँच जना महिला पाइलट हुन् ।