डिभिजन वन कार्यालय सिमराले राष्ट्रिय वन क्षेत्रमा गरेको वृक्षारोपण फाँडेको आरोपमा बाराको कोल्हवी नगरपालिका–५ रामवनका वडाध्यक्ष नन्दकिशोर चौधरीलाई शनिबार नियन्त्रणमा लिएको छ । बाराको कोल्हवी नगरपालिका–५ रामवनस्थित राष्ट्रिय वनमा डिभिजन वन कार्यालयले गरेको वृक्षरोपण फँडानी गरेपछि त्यहाँ पुगेको अनुगमन टोली ।
वन डिभिजन प्रमुख विनोद सिंहका अनुसार जंगल फाँडेको आरोपमा कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । वन फाँडेको सूचना आएपछि अनुगमन गर्न डिभिजन वन प्रमुख सिंहको नेतृत्वमा गएको प्रदेश वन निर्देशक जगरनाथ जयसवाल, नेपाली सेना, डिभिजन, प्रमुख जिल्ला अधिकारी, प्रहरी र नगर प्रमुखसहितको टोली पुगेको थियो ।
त्यही क्रममा वडाध्यक्ष चौधरीले डिभिजन प्रमुख सिंहसित प्रतिवाद गरेपछि वडाध्यक्षलाई नियन्त्रणमा लिएर डिभिजन वन सिमराको हिरासतमा ल्याइएको हो । उनकाअनुसार पहिला पनि उक्त ठाउँलाई अतिक्रमण गरेर घरटहराहरु बनाएपछि त्यसलाई हटाएर त्यहाँ वृक्षारोपण गरिएको थियो । कोल्हवी नगरपालिका वडा–५ स्थित राष्ट्रिय वनमा रहेको शिव मन्दिर आसपासको साढे ५ हेक्टरमा आर्थिक वर्ष ०७७/०७८ मा उक्त प्रजातिको रोपिएको थियो ।
त्यही क्षेत्रलाई निशाना बनाएर अतिक्रमण गर्ने उद्देश्यले स्थानीयहरुले फाँडेका हुन् । वडाध्यक्ष चौधरीले फँडानीमा आफ्नो संलग्नता नभएको अनुगमन टोलीसँगै पुगेका पत्रकारहरु सामू बताएका छन् । घटनास्थलमा सुरक्षाकर्मीको टोली पनि पुगेको थियो । मन्दिरमा पूजा गर्ने बहानामा वडाका स्थानीयहरुलाई बाजागाजासहित माइकिङ गरी बोलाएर क्षति पुर्याइएको उनले बताए । निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणमा खटिएको नेपाली सेनाले पनि त्यो क्षेत्रभन्दा थोरै परको राष्ट्रिय वन क्षेत्रमा वृक्षारोपण गरेको थियो । तर त्यसमा भने क्षति पुर्याइएको छैन ।