लुम्बिनी र पोखरा भन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्थ्याे : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताउनुभएको छ ।

११० औँ बीपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक गोष्ठीलाई आज साेमवार सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले लुम्बिनीकाे गाैतमबुद्ध र कास्कीकाे पोखरा विमानस्थल भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले पहिला लुम्बिनी र पोखरा एअरपोर्ट बनायाैँ । सबैभन्दा पहिला निजगढ बनाउनुपर्थ्याे । हामीले कतिपय प्राथमिकतालाई सही यकिन गर्न सकेका छैनौँ । निजगढको विषयमा गर्ने/नगर्ने भन्ने धेरै भयो ।’

महतले अबको चार वर्षसम्म काठमाण्डाै–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा निजगढ विमानस्थल पनि बनाइसक्ने दाबी गर्नुभयाे । उहाँले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेको उहाँकाे भनाइ छ ।

अर्थमन्त्री महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको बताउनुभयो । उहाँले आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्ने र सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । निजी क्षेत्रले उत्पादन गरेको कुरामा वितरणको नेतृत्व सरकारले लिनुपर्ने उहाँले उल्लेख गर्नुभयाे ।