रौतहटमा बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको ज्यान गयो, एक जना घाइते

रौतहटमा बिहान ५ बजे भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

चन्द्रपुर नगरपालिका-२ लच्कामा काठमाण्डौबाट सर्लाहीका लागि छुटेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बसले  प्रदेश-२-०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा रिक्सा चालकसहित तीन जनाको ज्यान गएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार रिक्सा चालक सर्लाहीकाे वाग्मती नगरपालिका-२ सोल्टीका ३८ वर्षका रवि मगर र रिक्सामा चढेका त्यहीँ ठाउँका ४५ वर्षका ढकबहादुर लुङ्गेली, ३८ वर्षका प्रेम ठाडामगरको ज्यान गएको हो । ज्यान गुमाएका ढकबहादुर लुङ्गेलीकी श्रीमती सविना घाइते हुनुभएको छ ।

थप उपचारका लागि उहाँलाई चन्द्रपुर अस्पतालबाट वीरगञ्जको न्युरो अस्पतालमा रेफर गरिएको छ । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Share your love