रौतहट — रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट शुक्रबार मोटरसाइकल चालकको मृत्यु भएको छ ।घटनालगत्तै जानाजानी ट्रक चालकले ब्याक गरेर किचेको भन्दै स्थानीयले चालकलाई कुटपिट गरेका छन् ।
त्यसपछि प्रहरीसँग स्थानीय प्रदर्शनकारीको झडपसमेत भएको थियो । स्थिति तनावग्रस्त बनेपछि सदरमुकाम गौरबाट प्रमुख जिल्ला अधिकारी सहितको टोली पुगेर स्थिति साम्य पारेको थियो ।
स्थानीयको कुटपिटबाट घाइते ट्रक चालक पोखरेललाई उपचारका लागि वीरगन्ज अस्पताल पठाइएको प्रहरीले बताएको छ । घटनालगत्तै मृतकका आफन्तले बन्कुल–निजगढ सडकखण्डअन्तर्गत सन्तपुर दोस्तिया चोकमा शव राखेर बाटो अवरुद्ध पारेका थिए । उनीहरूले दोषीलाई कडा कारबाही र क्षतिपूर्तिको माग अघि सारेका थिए । प्रमुख जिल्ला धर्मेन्द्रकुमार मिश्र र जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठ राति अबेरसम्म घटनास्थलमा पीडित पक्षसँग छलफल गरेर समाधान निकालेका थिए ।