रौतहटको रङ्गपुर स्वास्थ्यचौकीकाे प्रसूतिगृह सञ्चालनमा नआउँदा महिलालाई सास्ती

रौतहट – रौतहटको रङ्गपुर स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रसूति गृह झन्डै ४ वर्ष भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानीय समस्यामा परेका छन् । गुजरा नगरपालिका वडा नम्बर २ को कटाँनी टोलमा रहेको प्रसूति गृह घर छेउमै बनेको भए पनि सञ्चालन हुन नसक्दा महिलाहरु सुत्केरी गराउन अन्यत्र जानुपर्ने बाध्यता छ ।

सामुदायिक विकास कार्यक्रम (सीडीपी) सहित नगरपालिका र स्थानीयको गरी झन्डै ४१ लाख रुपैयाँ लगानीमा २०७५ सालमै प्रसूतिगृहको निर्माण सकिएको हो । तर अझै सञ्चालन नहुँदा त्यहाँका महिलाहरु सुत्केरी गराउन चन्द्रपुर, वीरगञ्ज तथा भरतपुर जानुपर्ने बाध्यता रहेको स्थानीय राधाकुमारी भट्टराईले जानकारी दिनुभयो ।

प्रसूति गृह सञ्चालनको लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा सूचीकृत हुनुपर्छ । तर निर्माण सम्पन्न भएको ४ वर्षसम्म सूचीकृत भएको छैन । प्रसूतिगृह सञ्चालनको लागि पहल भइरहेको  गुजरा नगरपालिकी  उपमेयर रत्ना लामाले बताउनुभयो ।

प्रसूति गृह सञ्चालनमा नआउँदा सबैभन्दा बढी मार आर्थिक रुपमा कमजोर समुदायका महिलाहरुलाई परेको छ । टाढाको अस्पतालमा लैजाने एम्बुलेन्स खर्च, औषधि उपचार तथा खर्च बेहोर्न ऋण खोज्नुपर्ने उनीहरुको बाध्यता छ ।

Share your love