रौतहटको कटहरिया–५ मा गए राति युवकलाई छुरा हानेर हत्या गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको छ। शुक्रवार बेलुका साढे सात बजे दुई पक्षीय झडपमा एक समूहले कटहरिया ५ का मदन यादवको २५ वर्षीय छोरा सुनिल राय यादवलाई छुरा हानेर हत्या गरेका थिए।
प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा कटहरिया ५ का रामबाबु साह सोनारका २५ वर्षीय छोरा बद्री साह सोनार र उनको काका लक्ष्मी साहको छोरा वर्ष २३ का किसन साहलाई नियन्त्रणमा लिएको थियो । खोजतलासको क्रममा कटहरिया गाउँमा लुकेर बसेका रामबाबु साह सोनार र दुई जना महिलालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
सबै आरोपी इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । मृतक यादवको शव पाेष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।
शुक्रवार साँझ दुवै परिवारका नाबालक केटाहरू बिच खेल्ने क्रममा भएको सामान्य गालीगलौजको विषयलाई लिएर भनाभन हुँदै झडप हुँदा हत्याको घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।